माइतीघर–त्रिपुरेश्वर एक किलोमिटर फ्लाइओभर बन्ने

d

राजधानीको व्यस्त माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोक जोड्न ‘फ्लाइओभर’ निर्माण हुने भएको छ । एक किलोमिटर ‘फ्लाइओभर’ निर्माणका लागि सडक विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच सहमति भएको छ ।

सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले ‘फ्लाइओभर’को निर्माण सन् २०१७ बाटै सुरु हुने जानकारी दिए । जापान सरकारको अनुदानमा ‘फ्लाइओभर’ बन्न लागेको हो । ‘जापान सरकार माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोकसम्मको ‘फ्लाइओभर’ निर्माण गर्न सहमत भएको छ, यसका लागि जाइकासँग सहमति भएको छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘उनीहरूले ‘फ्लाइओभर’को प्रि–फिजिबिलिटी अध्ययन सकेर रिपोर्ट बुझाइसकेका छन् । सबै काम योजनाअनुसार अघि बढे ‘फ्लाइओभर’ निर्माण २०१७ बाटै सुरु हुनेछ ।’

अहिलेकै अनुपातमा सवारीसाधन बढ्ने, तर राजधानीको सडक आधुनिकीकरण नगर्ने हो भने सन् २०३० सम्ममा उपत्यकाका सडकमा सवारीसाधन गुड्ने ठाउँ अभाव हुनेछ । उपमहानिर्देशक श्रेष्ठका अनुसार थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडकले अबको १० वर्षपछि प्रतिघन्टा पाँच हजार यात्रुलाई सेवा दिनुपर्ने हुन्छ ।

अहिले सडक विस्तार नहुने हो भने १० वर्षपछि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडक ‘मृत्यु’को अवस्थामा पुग्ने उनको दाबी छ । सोही कारण फ्लाइओभरको आवश्यकता देखिएको उनले बताए । ‘अबको १०–१२ वर्षमा पनि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरको सडक विस्तार नहुने हो भने राजधानीवासीले भयावह ट्राफिक समस्या भोग्नुपर्ने अवस्था आउँछ । सोही विषयलाई मध्यनजर गर्दै फ्लाइओभरको धारणा ल्याइएको हो,’ महाशाखाका उपमहानिर्देशक श्रेष्ठले भने । - नयाँ पत्रिका


प्रतिक्रिया दिनुहोस
Powered by Blogger.