बन्ने भो बाहिरी चक्रपथ

d

काठमाडौं: एक दशक अगाडि सुरु भएको बाहिरी चक्रपथ बन्ने निश्चित भएको छ । बाहिरी चक्रपथ निर्माण आयोजनाले आगामी डेढ महिनाभित्रमै पहिलो चरणको काम सुरु गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका विकास आयोजनाका प्रमुख आयुक्त भाइकाजी तिवारीले चक्रपथका लागि सरकारले जग्गा अधिकरण गर्ने निर्णय गरिसकेको जानकारी दिए ।
'सरकारले बजेटको कुनै समस्या छैन भनेकाले अब आयोजना अगाडि बढ्छ', उनले भने, 'सरकारले चालू आर्थिक वर्ष चार करोड रुपैयाँ बाहिरी चक्रपथका लागि छुट्ट्याएको छ । चालू आवकै लागि आवश्यक परे २५ करोड रुपैयाँसम्म दिन सकिने सहमति अर्थ मन्त्रालयले दिइसकेकाले आयोजनाको काम पनि सोही गतिमा अगाडि बढ्ने तिवारीले अन्नपूर्णसँग बताए ।
उनका अनुसार जग्गाका मुआब्जा मात्रै दिने हो भने दुई अर्बभन्दा बढी खर्च हुन्थ्यो तर यो बाहिरी चक्रपथको निर्माण मोडल नै अलग भएकाले पैसा कम खर्च हुन्छ । उनले समय र लगानीका बारेमा अहिले भन्न नसकिने बताए ।
बाहिरी चक्रपथ निर्माण आयोजनाका प्रमुख दीपक श्रेष्ठले सरकारले जग्गा अधिकरणको निर्णय गरिसकेकाले आगामी डेढ महिनाभित्रमै जग्गा रोक्काको काम पूरा हुने बताए ।
एक दशक अगाडि तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सरकारबाट स्वीकृत हुन बाँकी छ । आगामी १५ दिनभित्रमा यो काम गराउने तयारी भएको छ । यसपछि पहिलो चरणको योजनाअन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६ किलोमिटर बाहिरी चक्रपथको निर्माण शुभारम्भ गरिनेछ ।
उनका अनुसार ढेड महिनाभित्रमा चोभारदेखि सतुंगलसम्मको बाहिरी चक्रपथ निर्माण र एकीकृत बस्ती विकासको काम गर्न जग्गा रोक्का हुन्छ । विभिन्न ६ वटा नोडल प्वाइन्टमा हुने यो क्षेत्रको कामबाट नै सरकारले औपचारिक रूपमा बाहिरी चक्रपथ निर्माण गर्ने भएको छ ।
सरकारले व्यवस्थित बस्तीसहित ल्याएको यो योजना अन्तर्राष्ट्रिय मोडल भएको बाहिरी चक्रपथ विकास आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए । उनका अनुसार बाहिरी चक्रपथ नेपालको ड्रिम योजना हो । उनले भने, 'एक दशकसम्म थन्किएको यो आयोजना अगाडि बढाउन सफल भइएको छ ।'
बाहिरी चक्रपथ निर्माण गर्न शतप्रतिशत नेपाली सहमत भएकाले पनि आयोजना अगाडि बढ्ने सुनिश्चित आधार तय भएको हो । बाहिरी चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटरको राजमार्ग हो । यसमध्ये टोखा-गोकर्णेश्वरको १२ किलोमिटरको डीपीआर निर्माण गर्न बाँकी छ । चक्रपथ निर्माणको काम सुरु गर्दा बाँकी १२ किलोमिटर पनि सकिने सापकोटाको भनाइ छ । अहलिको काम जग्गा विकास कार्यक्रम र बाहिरी चक्रपथ विकास एकैपटक गर्ने हो ।
यस्तो हुनेछ चक्रपथ
बाहिरी चक्रपथ ५० मिटरको हुन्छ भने बाटोबाट दायाँबायाँ २५०/२५० मिटरको जग्गा विकासको योजना हुन्छ । यो जग्गामा न्यूनतम मापदण्डको घर बनाउन पाउने गरी घडेरी तयार गर्ने काम पनि बाहिरी चक्रपथ विकास आयोजनाले गर्छ । अहिले भइरहेको जग्गा र खेती भइरहेको भूमिमा भविष्यमा अव्यवस्थित सहरीकरण नहोस् भनेर नै अहिले नै व्यवस्थित बस्तीको परिकल्पना गरेर यो योजना ल्याइएको हो ।
बाहिरी चक्रपथ निर्माणसँगै न्यूनतम २० फिटदेखि २५ फिट, ३६ फिट र एक सय ६५ फिटको बाटोसहितको व्यवस्थित बस्तीका लागि घडेरी तयार गर्ने काम पनि आयोजनाले नै गर्छ ।
नेपालमा परापूर्व कालदेखि बस्न थालेका असन, इन्द्रचोक वा अन्य स्थानको जस्तो अव्यवस्थित बस्ती नबनोस् भनेर नै सरकारले यो सम्पन्न सहरको परिकल्पना गरिएको हो । आयोजनाले बाटोको ट्र्याकमा पर्नेबाहेक सबै घर अहिले नै भत्काउने काम भने गर्दैन । बाटोमा पर्नेबाहेक घर भत्कँदैनन् । त्यस ठाउँको जग्गाको प्लटिङ भने हुन्छ । सापकोटाका अनुसार बाहिरी चक्रपथमा स्थानीयले उत्साहका कारण अहिले नै घर भत्काउन निवेदन दिन थालिसकेका छन् ।
उनका अनुसार सबै घर भत्कँदैनन् । प्लटिङ गर्दा नमिलेका र भत्काउनुपर्ने आवश्यकता देखिएका घरमात्र भत्किन्छन् । यसर्थ अहिले पहिलो चरणमा काम हुने क्षेत्रको कित्ताकाट र बेचबिखन आगामी एक महिनापछि नै रोकिन्छ । बाटोबाट दायाँबायाँको २५० मिटर क्षेत्रको घर अबको एक महिनासम्म रोकिँदैन तर नयाँ घर भने बनाउन नपाइने प्राधिकरणको भनाइ छ ।
बाहिरी चक्रपथ अहिले चार लेनको बाटोको संरचनामा तयार हुन्छ । यसको स्वरूप भने आठ लेनसम्मको बन्ने पनि सापकोटाले बताए । जग्गा अधिग्रहण गर्ने निर्णय एक साताअगाडि मात्रै भएको हो । जग्गा अधिग्रहण गर्नुपर्ने सडक र दायाँबायाँको क्षेत्रका लागि गरेर करिब एक लाख रोपनी हुन्छ । अधिग्रहण गरिएको जग्गा बाटोमा परेको बाहेक प्लटिङ गरेर दुई वर्षभित्रमा फिर्ता हुन्छ ।
बाटोको केन्द्रबाट २७५ मिटर दायाँबायाँ प्लानिङ हुन्छ । यो क्षेत्रका जग्गा सरकारले वर्गीकरण गर्छ । पाँचदेखि ३० फिटसम्मको बाटो भएको जग्गाको वर्गीकरण हुन्छ । आयोजनाले बाटो र बाटोबाहेकका प्लटिङ हुने सबै जग्गा अधिग्रहण गरेर राख्छ । त्यसपछि ५० मिटरको मूल चक्रपथको बाटो र बस्ती जाने बाटोको जग्गाबाहेक व्यवस्थित प्लटिङ भएपछि न्यूनतम मापदण्ड तयार गरेर स्थानीयको जग्गा फिर्ता गरिने पनि प्राधिकरणले जनाएको छ ।
निर्माणपछि फाइदा
आयोजनाले बाटो र वरपर २५० मिटरसम्मका सबै जग्गा अधिग्रहण गरेर राख्छ । त्यसपछि बाटोले ओगटेको बाहेकका जग्गा प्लटिङ गरेपछि फिर्ता भइहाल्छ । बाटो निर्माणको काम भने जारी नै रहन्छ । प्लटिङपछि अहिले दुई लाख आनाको जग्गा २० लाख रुपैयाँ आनासम्म पुग्न सक्छ । बाटो बनाउन सबै स्थानीयले समान योगदान गर्नुपर्छ । यसका लागि बाटो बनाउन न्यूनतम सात दशमलव आठ प्रतिशत जग्गा योगदान गर्नुपर्छ । ओपन स्पेन निर्माण गर्न पाँच प्रतिशतसहित जम्मा १२.८ प्रतिशत जग्गा योगदान गर्नुपर्ने हुन्छ । त्यसपछि सम्पूर्ण क्षेत्रकै स्तरोन्नति हुन्छ ।
आन्तरिक सञ्जालको बाटो पनि बन्छ । प्रत्येक घडेरीमा जाने बाटो ६ मिटरदेखि आठ मिटर, ११ मिटर वा ५० मिटरको हुन्छ । भविष्यमा हुने अव्यवस्थित घरघरेडी यसले नियन्त्रण गर्छ । यो योजनामा काठमाडौं उपत्यकाकै करिब १० प्रतिशत जग्गा प्लानिङमा पर्छ । त्यसपछि जग्गाको ग्रेडिङ हुन्छ । बाटोको छेउमा हुने कमर्सियल हुन्छ भने बाटोको दुई सय ५० मिटर पर रहेको जग्गा रेसिडेन्टल हुनसक्छ । यसर्थ बाटोको छेउमै परेकाले बढी योगदान गर्नुपर्छ भने अलि पर हुनेले थोरै योगदान गर्नुपर्ने पनि हुन्छ ।
बाहिरी चक्रपथका लागि जम्मा सात हजार कित्ता जग्गाको लगत डीपीआर बनाउँदा तय भएको छ । जग्गाको कित्ताकाट र बेचबिखन हुने क्रममा हाल केही बढेको हुनसक्ने अनुमान छ । बाहिरी चक्रपथ निर्माणमा पहिले स्थानीयले नबुझ्दा नेपाल सरकारले बाटो बनाउने हामीले जग्गा किन दिने भन्ने प्रश्न आउँथ्यो तर अहिले सबैले सहमति दिएको पनि सापकोटाले बताए ।
पछिल्लो समय स्थानीयले आफ्नो जग्गाको महत्त्व, व्यवस्थित सहरीकरण र भविष्यको सुनिश्चितताले सहमत हुँदै गएका हुन् । अहिले करिब शतप्रतिशत नै सहमत भएका छन् । केही व्यक्ति भने पूर्वाग्रह भएका, राजनीतिक स्वार्थ जोडिएका र आफ्नो जग्गा नपर्ने भएकाले चक्रपथ निर्माणमा असहमत देखिएका छन् । हालसम्म असहमति व्यक्त गर्ने जम्मा चारजनाले मात्रै प्राधिकरणसमक्ष निवेदन दिएका छन् ।
चारवटा फ्लाई ओभर
बाहिरी चक्रपथमा जम्मा चारवटा फ्लाई ओभर हुनेछन् । आयोजना सुरु भएको १० वर्षमा पूरा हुने यो चक्रपथ निर्माण सकिँदासम्म पूरा हुने फ्लाई ओभरमा पूर्वमा अरनिको राजमार्ग, पश्चिममा त्रिभुवन राजपथ, दक्षिणमा फास्ट ट्र्याक र उत्तरमा केरुङ जाने बाटोमा फ्लाई ओभर हुने उल्लेख छ ।
दुई वर्षमै पहिलो चरण
जनताले सहमति दिएकाले बाहिरी चक्रपथ निर्माणमा भएको अहिलेको गति नै यो योजना विकासको सबैभन्दा ठूलो उपलब्धि हो । पहिलो चरणको काम चोभारबाट सतुंगलसम्मको हुने भएको छ । यो काम सुरु भएको दुई वर्षमा आवश्यक काम पूरा गरेर अधिग्रहण गरेको जग्गा स्थानीयलाई फिर्ता हुन्छ । दुई वर्षभन्दा बढी समय जग्गा होल्ड गर्न पनि नपाइने भएकाले बाहिरी चक्रपथको काम सुरु गरेको हरेक फेजमा दुई वर्षभित्र पूरा हुने लक्ष्य नै अगाडि सारिएको उपत्यका विकास प्राधिकरणको भनाइ छ ।
बाटोको ट्र्याक खोल्ने कामसँगै डोजर लगाएर बस्ती सम्याउने काम पनि हुन्छ । प्राधिकरणका अनुसार बाटोमा परेका घरको भने सरकारले क्षतिपूर्ति दिन्छ । निर्माण पूरा भए पनि बाहिरी चक्रपथमा साइकल लेन, फुटपाथ र सवारीका विभिन्न लेन हुन्छन् । यो बाटो र वरपरका बस्ती नेपालकै नमुना हुनेछ ।


प्रतिक्रिया दिनुहोस
Powered by Blogger.